काठमाडौं, ३ भदौ । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट एक जनाको ज्यान गएको छ।
मंगलबार राति मृत्यु भएकी हेटौंडा उपमहानगरपालिका – १ चौकीटोलकी ६१ वर्षकी वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार ज्यान गएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको जनाइएको छ।
धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना गरिएको थियो । साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।

यस्तै पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।यो संगै चार जनाको ज्यान गएको छ।




