काठमाडौं, ३ भदौ । आज बाबुको मुख हेर्ने पर्व पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।
आज कुशे औंसी तपाईको मुख हेर्ने दिन तर आज मात्र हैन हरेक दिन बाबुआमाको सेवा गर्न पाउनु भाग्यमानी नै ठान्नु पर्छ। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका बाबुको मुख हेर्ने पर्वमा बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
आज छोराछोरीहरूले आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने चलन छ। आमाबाबु नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । तर यो वर्ष कोरोनाको कहरले गर्दा मन्दिहरू बन्द रहेका छन् ।
विगतका वर्षहरूमा मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरि मनाइँथ्यो । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्थ्यो तर यो वर्ष कोरोनाका कारण गोकर्णेश्वर मन्दिर खुल्ने छैन । मेला पनि लाग्ने छैन । आज घरमानै बसेर सामान्य तरिकाले मनाइने छ ।
संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं । र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलार्इ कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ।
यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाईू भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ ।

एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा९आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि ।
हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलार्इ एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।




