पोखरा, २ भदौं । कोरोना भाइरस संक्रमणबाट पोखराकोमा थप एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।
पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गए राति मृत्यु भएको थियो । पोखराका ८७ वर्षीय वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।
डा. आचार्यका अनुसार उनमा डायबिटिज र मिर्गौलाको समेत समस्या थियो । शुरुमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरेर उपचार थालिएको थियो । कोरोना संक्रमणको लक्षण समेत देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा खटिएका डाक्टरदेखि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मी गरी १३ जनालाई क्वारेन्टिनमा राखिएको छ भने इमर्जेन्सी वार्ड बन्द गरिएको छ ।

पोखराकै एक अस्पतालबाट प्रतिष्ठानको अस्पतालमा उनलाई रिफर गरिएको थियो । कोरोनाको लक्षण देखिएकाले उनलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने थियो तर सीधै इमर्जेन्सीमा उपचारका लागि लगिएको थियो । जहाँ अन्य बिरामी पनि थिए भने चिकित्सकले पीपीईको प्रयोग समेत नगरेको पाइएको छ ।
मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचार भइरहेको र पछिमात्र कोरोना संक्रमण पत्ता लागेको उपचारका खटिएका डा.अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’
कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई आइसोलेसनमा र लक्षण देखिएका विरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । तर, सीधै इमर्जेन्सीमा भर्ना गरेर उपचार गराउँदा डाक्टर र अन्य बिरामी समेत जोखिममा परेको चिकित्सककै भनाइ छ ।




