पर्सा, १ भदौं । पछिल्लो २४ घण्टामा पर्सा र धनुषामा थप एक–एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको नारायणी अस्पताल वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्युु भएको हो । रौतहटका २५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पृष्टि भएको हो ।
उनी शनिबार बेलुका ५ बजे नारायणी कोरोना अस्पतालमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनको ३१ गते राति ८ बजे मृत्यु भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । मृतक क्षयरोगका बिरामी समेत थिए । उनले लामो समयदेखि क्षयरोगका औषधि खाइरहेको जनाइएको छ ।

त्यस्तै बारा र पर्सामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल प्रयोगशाला वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ६ र बाराका ५ जना गरी ११ जनामा कोरोना देखिएको छ ।
धनुषामा थप एक एक संक्रमितको मृत्यु
यता धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषको धनौजी गाउँपालिका–३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।




