वीरगञ्ज, ०१ भदौ। पर्सामा मेयर र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । संक्रमितहरु पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यहाँका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि कोरोनाको सिकार बनेका छन् । पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका जनाइएको छ।




