सुर्खेत, २९ साउन । कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत जिल्लामा आज (बिहीबार) थप १८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडा नम्बर–१३ का २२ र २५ वर्षका दुईजना महिला, ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष छन् ।
एक जना संक्रमित भने लेकबेसी नगरपालिका–७ का ४३ वर्षीय पुरुष छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०५२ पुगेको छ । प्रदेशमा हालसम्म १९०१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ । १४५ जना संक्रिय संक्रमित आइसोलेसनमा छन् । सुर्खेत बाहेक कर्णालीका अरु जिल्लामा भने संक्रमित थपिएका छैनन् ।




