काठमाडाैं, २७ साउन । प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।
शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत हत्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । पौडेलले मोडलिङ तथा टेलिश्रृंखलामा समेत अभिनय गरेको पाइएको छ । उनीसँगै उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले पक्राउ परेको छ । उनले हत्यापछि शव व्यवस्थापन गर्न सहयोग गरेको प्रहरीले जनाएको छ।
उनले दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाकाे अन्तरंग सम्बन्ध रहेकाे र पछि बाेहराले नक्कली फेसबुक आईडी बनाएर महिलाकाे नांगाे फाेटाे सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे उनले स्वीकार गरेकी छन् ।
औषधि र रक्सीको नसाले लठ्ठीएपछि हम्मरले अण्डकोषमा हानेर बोहराको हत्या
प्रहरीका अनुसार मुडभरीले बाेहराकाे अण्डकाेषमा हिर्काएर हत्या गरेकाे र सुटकेशभित्र राख्न शवलाइ टुक्रा टुक्रा पारेकाे बताएकी हुन् । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । जिउ सुटकेसमा र खुुट्टा तथा टाउको जेब्रा झोलामा राखेर अलग-अलग स्थानमा फाल्न उनले १५ वर्षीया छोरीको सहयोग लिएको बताएकी छन्। घटनापछि उनी एम्बुलेन्समा भागेर चितवन पुगेकी थिइन् ।

घटना हुने दिन शनिबार बोहरा आफू बसेको गेष्टहाउस सञ्चालकलाई केही दिन नआउने बताउँदै दिउँसो ५ बजे निस्किएका थिए। बोहरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन्। दहीमा भने कल्पना आफैँले खाँदै आएको डिप्रेशनको औषधि मिसाएर दिएकी थिइन्।
उक्त औषधि र रक्सीको नसाले लठ्ठीएपछि हम्मरले अण्डकोषमा हानेर बोहराको हत्या भएको पाइएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । त्यसपछि ती महिलाले सलले बोहराको घाँटीसमेत थिचेकी थिइन् ।
बोहरा मरिसकेपछि बाथरुमको ढोकाको डिललाई अचानो बनाएर घाँटी र खुट्टा काटेको कल्पनाले प्रहरीसमक्ष बयान दिएकी छिन्। उनले यसरी बोहराको हत्या गरुन्जेल उनका एक छोरा र एक छोरी भने अर्कै कोठामा थिए। एक पटक छोराछोरी कल्पना भएको कोठामा प्रवेश गर्न खोज्दा समेत उनले नआउन भनेकाे उनका छोराछोरीले बताएका छन् । यसरी उनले बोहराको हत्या गर्दा रातिको साढे ९ बजिसकको अनुसन्धानबाट खुलेको छ।

खुट्टा र टाउको छुट्याएपछि झोलामा प्याक गरेर कल्पना एक्लैले फालेकी थिइन्। त्यसपछि बाँकी शरीर सुटकेशमा हालेर फ्याँक्ने क्रममा उनले १५ वर्षीया छोरीको सहयोग लिएको पाइएको छ ।
दुवैकाे परिवारसँग थिएन राम्रो सम्बन्ध
हत्या गरिका ४५ वर्षीय बोहराको परिवारसँग खासै राम्रो सम्बन्ध नभएको पाइएको छ । उनी परिवारबाटे छुट्टिएर विगत केही वर्षदेखि काठमाडौं एक्लै बस्दै आएका थिए। इराक, अफगानिस्तान, टर्की, भारत र विभिन्न खाडी मुलुकसमेत गएका बोहराले दुई वटा बिहे गरेका थिए। उनकी कान्छी श्रीमती र उनका छोराछोरी भने भारतमै छन्। जेठी श्रीमतीसँग पनि उनको राम्रो सम्बन्ध रहेको नपाइएको प्रहरीले जनाएको छ। बोहराको आर्थिक अवस्थासमेत राम्रो नभएको पाइएको छ ।
उता हत्या आरोपमा पक्राउ परेकी महिलाको समेत श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पाइएको छ। गत वर्ष जेठी छोरीको बिहेमा समेत श्रीमान नआएको र सम्बन्ध राम्रो नभएकाले आ-आफ्नै सुर गर्न थालेको बयान कल्पनाले दिएकी छिन्। श्रीमानले पैसा नदिएको भन्दै कल्पनाले आफ्नो छोरीको बिहे गर्ने बेला घरेबटीसँग २ लाख रुपैयाँ ऋण लिएको बताएकी छिन्। त्यसैगरी एक वर्षदेखि कोठा भाडासमेत नतिरेको उनको भनाइ छ ।




