काठमाडाैं, २६ साउन । कवि ,आख्यानकार एवं अभिनेता राजबाबु श्रेष्ठ सागरद्वारा रचित “हराएका छोराहरू” कविता संग्रह देशप्रेमी सर्वहारावर्गले भोग्नुपरेको दु:ख,पीडा,वेदना र नियतिको सिङ्गो सामाजिक दस्तावेज बन्न पुगेको छ ।
कवितैपिच्छे भोक र भोकाका दर्दनाक शूलहरू छताछुल्ल छन् । सबाल्टर्नवर्गका मुखरबिन्दु बनेर कविले चेतनाको झिल्को बालेका छन् । सामाजिक विकृती,विसंगति ,अन्याय ,अत्याचार,भ्रष्टाचार र बलात्कार जस्ता घटना-परिघटनाबाट आकुलव्याकुल भएर कविले कविता मार्फत विद्रोहको ज्वारभाटा उरालेका छन् ।

स्वच्छतावादी कविको रुपमा उदाएका कवि राजबाबु श्रेष्ठ सागरका कविताहरूमा गोपालप्रसाद रिमाल ,भूपी शेरचन र महाकवि लक्ष्नीप्रसाद देवकोटाको जत्तिकै भावावेष र बौद्धिकताको कसी झल्किएको छ । जनयुद्धले ल्याएको परिवर्तन र ल्याउन नसकेको परिवर्तनसँगै यसका मानवीय अवशेषहरू, चाडबाडमासम्म चुल्हो बाल्न नसक्ने निमुखा जनताका वेदनाहरू, छिमेकीद्वारा देशको सिमाना मिचिएको देख्दा स्वाभिमानी नेपालीहरूको हृदयमा उर्लने आक्रोशका ज्वालाहरू र अनुभव-अनुभूतिजन्य जिवन र मायाप्रेमका घामछायाँका लुकामारीहरू समेटिएको यस कविता संग्रह नेपाली कविताले पाएको एक हीरा हो जो सधैं जनजनको मनमनमा चम्किरहनेछ !हराएका छोराहरू ,मेरा भोकहरू भोकभोकै निदाउँछन्,देश आफैँ बन्द छ ।
भनन सरकार तिमी कस्ता जात हौ?, घाम निद्राबाट ब्युझिँदा, ठोक सलामी ए मलामीहरू हो, तिमीले आफैले आफैलाई खायौ, पिँजडाभित्रको स्वतन्त्रता, प्रदुषणका कुहिएका चल्लाहरू, भन तिमीले देशलाई के दियौ?, म उसलाई औधी माया गर्छु, म एउटा भोकोपेट, तिमीलाइनै बन्धकी राखेर दशैं मनाउँछु, भोकभन्दा ठूलो आशीर्वाद होइन रहेछ । शहीदहरू व्युँझनुपर्छ, एक स्वाभिमानी नेपाली, ए भगवान तिमी कति पटु? इत्यादि उत्कृष्ट कविताहरू गरीबका पैतालाहरूको डोबहरू भर्दै उदाएका छन् “हराएका छोराहरू” भित्र ।

समग्रमा “हराएका छोराहरू” कविता संग्रह पठनीय र मननीय छ , समय ,श्रम र स्रोत खर्च भएभन्दा बढी ज्ञानज्योती प्रदान गर्न सक्षम छ ! अभिनेता एवं साहित्यकार राजबाबु श्रेष्ठ सागरलाई “हराएका छोराहरू” कविता संग्रहको निम्ति हार्दिक साधुवाद !
केही कवितामा उही भावार्थ पुनरुत्पति भएका छन्, यसलाई सामान्य कमजोरी मान्न सकिन्छ ! आउँदा दिनमा आउँदा कृतिमा ख्याल राख्नुहुने छ ।




