काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएकाे बताएका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले देश गम्भीर संकटतर्फ गएकाे बताउँदै पाँच सुझाव पेश गरेका छन् ।
भट्टराईले सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय छुट दिएकोमासमेत असन्तुष्टि जनाएका छन् । उक्त घटनाप्रति लक्षित गर्दे बाबुरामले न्यायाधीशलाई महाभियोग लगाउन समेत सुझाव दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्-‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पत्नीको ज्यान मारेर शवसमेत जलाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाह गरेको थियाे । पूर्वडीआईजी ८ वर्ष ६ महिनामै छुटेपछि बाबुरामले उक्त प्रतिक्रिया दिएका हुन् ।
जिल्ला अदालत र उच्च अदातलले श्रीमती गीता ढकालको हत्या अभियोगमा रञ्जनलाई जन्मकैद सजाय सुनाएको थियो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने सुझाव पनि दिएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने पनि सुझाव दिएका छन् ।
बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं :१.संसद अधिवेशन बोलाऊँ; २. केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं; ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ; ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं; ५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!’




