एजेन्सी, ६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय विवादमा परेका छन् । कहिले अमेरिकामा माक्स नलाउदा नि हुने, कहिले अमेरिकामा कोरोनाबाट कम मानिसहरुको ज्यान गएको विषयले त कहिले कोरोनालाई चाइनिज भाइरस भन्ने अभिव्यक्तिहरुले । त्यस्तै अहिले पनि उनले आफ्नो ट्वीटरमार्फत एउटा भनाइ राखेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाएको आफ्नो फोटो ट्वीट गर्दै यस्तो लेखेका छन् , ‘हामी अदृश्य चाइनिज भाइरसलाई हराउन एकजुट छौँ। धेरै व्यक्ति भन्छन् यदि सामाजिक दूरी गर्न सकिदैन भने मास्क लगाउनु देशभक्तिको कार्य हो। त्यसोभए यहाँ म भन्दा ठूलो कोही देशभक्त छैन, तपाईको मनपर्ने राष्ट्रपति।
हालसालै ट्रम्पले कोभिड १९ लाई रोक्न मास्कको आवश्यकताबारे बिभिन्न बयान दिदै आएका छन् । त्यस्तो बयानपछि उनका विपक्षी डेमोक्र्याट र धेरै वैज्ञानिक सल्लाहकारहरूले उनको आलोचना गरेका छन्। आइतवार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले आफू मास्क लगाउनमा विश्वास गर्ने भएपनि यसले समस्या पनि उत्पन्न गर्ने रहेको बताएका थिए ।

उनले यो पनि भने विशेषज्ञहरूले मास्कलाई आवश्यक ठान्छन् तर यसमा मतभेत छन्।




