काठमाडौँ, २९ असार। तीन दिनअघि बालुवाटारमा भएको भेटवार्ताका क्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भनाभनको स्थिति पैदा भएको खुल्न आएको छ।
बैंठकमा दुवै एकअर्कासँग आक्रोशित भएका थिए। ओलीले आफूले कुनै पनि हालतमा दुवै पद नछोड्ने भन्दै आफूले सकेको गर्न प्रचण्डलाई धम्की दिएका थिए। त्यसको प्रति उत्तरमा प्रचण्डले जङ्गिदै, ‘हेरौला! तपाईंलाई त्यत्ति सजिलै कहाँ छोड्छु र!’ भन्दै बैठकबाट जुरुक्क उठेर हिडेका थिए।
नेकपा सचिवालयका एक जना सदस्यलाई अध्यक्ष प्रचण्डले बिहीबार बालुवाटारबाट फर्केर गरेको ब्रिफिङ अनुसार ओलीसँग उनको भेटमा चर्काचर्की नै भएको बताएका थिए। ओलीको यस्तो रुप आफूले अझ सम्म नदेखेको बताए।
सचिवालयका ती सदस्यका अनुसार करिब डेढ घन्टा लामो भेटका क्रममा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गर्नु पर्ने कुरा दोहोर्याएपछि ओलीले निकै आक्रोशित भएर प्रधानमन्त्रीबाट आफुलाई हटाउने प्रस्ताव औपचारिक रुपमा ल्याए पार्टी विभाजन सहज बनाउन अध्यादेश ल्याउने लगायत कदम चाल्न सक्ने संकेत दिएका हुन्।
पार्टीमा देखिएको पछिल्लो विवाद सहमतिमा मिलाउने जिम्मेवारीमा रहेका ओली र प्रचण्डबीच चार दिनयता भेटवार्ता त टाढाकै कुरा बोलचाल पनि भएको छैन।
त्यही क्रममा ओली र प्रचण्डबीच बिहीबार भएको भेट एकदमै तनावपूर्ण अवस्थामा टुंगिएको हो। त्यस्तो अवस्थामा बैठक टुंगिएपनि दुवै पक्षले त्यसलाई बाहिर ल्याएका थिएनन्। बालुवाटारबाट फर्केपछि प्रचण्डले खुमलटार निवासमा पुगेर केही नेताहरूलाई यसबारे ब्रिफिङ गरेका थिए।

शनिबार आफ्नो गृहजिल्ला चितवन पुगेर प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सबैको पहलमा नयाँ नक्सा जारी गरिएको बताए। जसबाट प्रचण्डले सडकमा आफ्नो पक्षमा नागरिक उतारिरहेका ओलीलाई जवाफ दिन खोजेको हिसावले कतिपयले लिएका छन्।
प्रचण्ड–माधव नेपाल पक्षका केही नेताले भने साउन २ गते स्थायी समिति बैठक बस्ने र त्यसले केन्द्रीय समिति बैठक डाक्ने तयारी भइरहेको दाबी गरेका छन्। ओली पक्षका एक जना केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओली पार्टीको बैठक सार्दै जाने र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारीमा छन्।
‘सकेसम्म वामदेव गौतम र रामबहादुर थापालाई आफ्नो पक्षमा ल्याएर सचिवालयमा बहुमत पुर्याउने हुन सक्छ’, ती केन्द्रीय सदस्य भन्छन्, ‘मन्त्रीपरिषद पुनर्गठन गर्ने क्रममा स्थायी समितिका सदस्य पनि ओली पक्षमा थपिन सक्छन्, जसले एउटा फरक माहोल बनाउन सक्छ।’




