काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे प्रधानमन्त्रीले अवगत गराएका छन् ।
‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह पनि गरेका छन् । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लागेका छन्’’, प्रधानमन्त्री भने ।
उनले ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्न आग्रह गरेका छन् ।

बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको सहमतिअनुसार आफू चल्ने बताएका छन् । बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गरेका थिए ।




