काठमाडौं, १७ असार। विश्वमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण रहेको देश अमेरिकामा अब दैनिक एक लाख संक्रमित फेला पर्ने सम्भावना रहेको बताइएको छ ।
कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने बताएका हुन् ।
फाउचीले अमेरिकामा आउने दिन अझै कोरोना संकटपूर्ण हुने चेतावनी पनि दिएका छन् । अहिले अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । त्यसैले यदि सावधानी नअपनाएमा अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका नभएको उनको भनाइ रहेको छ।

अमेरिकामा हालसम्म २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ । त्यस्तै कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ ।




