काठमाडौं, १६ असार । कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । मंगलबार कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा सलह देखिए हो । कृषि अनुसन्धान केन्द्रमा सानो संख्यामा सलह फेला परेको कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतका केन्द्र प्रमुख बन्दुराज बरालले बताए । उनले भने कतैबाट छुट्टिएर आएको सानो संख्यामा सलह देखेका छौँ । सानो संख्या भएर किसानले चिन्नुभएको छैन ।
सानो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर नपार्ने प्रमुख बरालले बताए । उनले भने सानो संख्यामा रहेको सलहले त्यति क्षति गर्दैन । तर, भारतबाट ठूलो संख्यामा सलह आउन सक्छ । त्यसबाट सचेत रहन जरुरी रहेको छ । कर्णालीमा छुट्टिएर आएको सलह सबैतिर फैलिएको हुन सक्ने प्रमुख बरालले बताए ।

उनले भने फ्टयाङ्ग्राजस्तै हुने भएकाले किसानले फ्टयाङ्ग्रा सोच्नुभएको होला । त्यो भएर यो संख्या बढ्न सक्छ ।कर्णालीमा पहिलोपटक सलह आएको जानकारी पाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले बताए ।
उनले भने दशरथपुरमा सलह भेटिएको छ । यसको नियन्त्रणका लागि प्रदेश सरकारले चाँडै कदम चाल्नेछ, उनले बताए।




