काठमाडौं, १४ असार । भारतसँग सीमा जोडिएका प्रदेश–२ का जिल्लाबाट नेपाल प्रवेश गरेको सलक किरा एकै रातमा धेरै जिल्ला पुगिसकेको छ ।
विज्ञहरुले सलक किरा काठमाडौं उपत्यका समेत प्रवेश गरेको बताएका छन् । लतिपुरमा सलह देखिएको विज्ञहरुले बताएका हुन् । मनसुनका बेला पानी परिरहेको र सलहको झुण्ड कम देखिएकाले नआतिन विज्ञहरुले सुझाव दिएका छन् ।
पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।
उनका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ । सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र सो नगरपालिकाका कृषि प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जानकारी दिएका छन् ।
यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकहरुले गराएको उनले बताए । उनले जिल्लामा कहीं देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिए ।
यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ । सो केन्द्रका प्रमुख राजन ढकालले आजै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, सो परियोजना, केन्द्रलगायत संस्थाका विज्ञहरु र मन्त्रालयका उच्च अधिकारीका बीचमा सो विषयमा छलफल हुने जनाइएको छ ।

उनले मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिए । केन्द्रका प्रमुख ढकालका अनुसार मकवानपुरतिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको बताए ।
‘एक महिनासम्म मात्र रहन्छ’
बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।
वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने विज्ञहरुको अनुमान छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माले बताएका छन् ।
‘वयस्क सलहले अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन्,’ उनले भने, ‘उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’
हावाको गतिमा सोमबारसम्म परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए । एकै पटक ८–१० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २–४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनको भनाई छ ।
अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको उनले बताए ।




