काठमाडौं, ७ असार । आज आइतबार असार कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) ग्रहण बिहान १०ः५० बजेबाट लाग्दै छ ।
ग्रहणले मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने बताइएको छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने जनाइएको छ ।
शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न मिल्ने छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आइतबारको मात्र रहेको समितिले जनाएको छ ।
वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।




