काठमाडाैं, ४ असार । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् ।कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षणका लागि उनीहरु दार्चुला गएका हुन् ।
त्यसक्रममा प्रधानसेनापति थापाले त्यहाँ सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । उनले सीमा सुरक्षार्थ खटिएको फौजलाई कुनै पनि किसिमको असहज परिस्थिति र अभाव हुन नदिने पनि बताए ।
प्रधानसेनापति थापा र आईजीपी खनालले छाङरुको बीओपीमा त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए । सेनापति र सशस्त्र प्रहरी प्रमुखले यसरी त्यस क्षेत्रको भूभाग निरीक्षण तथा अनुगमन यसअघि कहिल्यै नगरेको एक सुरक्षा अधिकारीले बताए । प्रधान सेनापति थापाले सीमा सुरक्षार्थ तैनाथ सशस्त्रका अधिकृत तथा जवानलाई राज्यका सबै अंग मिलेर सीमा रक्षा गर्दै जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । ‘विकास र सुरक्षा सँगसँगै जानुपर्छ,’ उनले भने, ‘यसैलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्छ ।’
आईजीपी खनालले सीमा रक्षक र नागरिकको भरोसा एवं अभिभावक भएर काम गर्न बीओपीमा तैनाथ अधिकृत तथा जवानलाई निर्देशन दिएका थिए । ‘सशस्त्रले पाएको सीमा सुरक्षाजस्तो गहन जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुस्, केही समस्या भए भन्नुस्, तत्काल सम्बोधन हुन्छ,’ खनालको भनाइ उद्धृत गर्दै छाङरु पुगेका एक सुरक्षा अधिकारीले भने, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाएर काम गर्नुस्, नागरिक लुटिन, कुटिन र ठगिन र असुरक्षित हुनबाट जोगाउने जिम्मा तपाईंहरुको हातमा छ । सबैसँग सहकार्य, समन्वय र सहयोग साटासाट गरेर अघि बढ्नुपर्छ ।’

सेनापति थापाले एकले अर्कोलाई परेको अवस्थामा सहयोग गर्नुपर्ने भन्दै सशस्त्रलाई साथ चाहिए निर्धक्क रूपमा भन्न पनि आग्रह गरे । ‘जिम्मेवारी निर्वाह गर्ने क्रममा एकले अर्काेलाई सहयोग गर्नुपर्छ, हामी अनकन्टारमा छौं, असुरक्षित छौं भन्ने भावना रत्तिभर नलिनुस्,’ थापाले सशस्त्रका फौजलाई भने ।
काठमाडौंबाट सेनाको स्काई ट्रक (जहाज) मा धनगढी पुगेका दुवै सुरक्षा प्रमुख त्यहाँबाट सेनाको एमआई–१७ हेलिकप्टरमा दार्चुला सदरमुकाम खलंगा हुँदै व्यास गाउँपालिकाको छाङरु र सेनाले बाटो निर्माण गरिरहेको ब्यासकै घाँटीबगर पनि पुगेका थिए । सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा प्रमुखहरुलाई लिएर सेनापति थापा र आईजीपी खनाल सुरुमा घाँटीबगर र त्यसपछि छाङरु पुगेका थिए । ब्यास गाउँपालिका–२, घाँटीबगरमा जेठ ८ गते सेनानीको नेतृत्वमा अस्थायी बेस क्याम्प स्थापना गरिएको छ । सशस्त्रको बीओपीबाट सैनिक क्याम्प ३२ किमि तल पर्छ ।
दार्चुला सदरमुकाम खलंगाबाट चीनसँगको व्यापारिक मार्ग जोड्ने तिंकर भञ्ज्याङसम्म सडक निर्माणका लागि सेनाले घाँटीबगरमा अस्थायी क्याम्प स्थापना गरेको छ । तिंकरमा पनि छिट्टै सशस्त्रको बीओपी राख्ने तयारी छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी–लिपुलेक र लिम्पियाधुरासहित समेटिएको अपी–नाम्पा संरक्षण क्षेत्रको सुरक्षाका लागि पनि सेनालाई खटाउनेबारे छलफल भइरहेको छ । ‘सशस्त्रको बीओपी, सेनाको अस्थायी क्याम्प, तिंकरमा राख्ने भनिएको अर्को बीओपी र अपी–नाम्पा संरक्षण क्षेत्र सुरक्षाका लागि वस्तुस्थिति बुझ्न दुवै सुरक्षा निकायका प्रमुखहरु निरीक्षणमा जानुभएको हो,’ काठमाडौंस्थित एक सुरक्षा अधिकारीले भने, ‘विकट क्षेत्रमा रहेर सीमा तथा पूर्वाधार निर्माणमा तैनाथ फौजको मनोबल उच्च बनाउन यसले निकै मद्दत पुग्छ ।’
सीमा सुरक्षाको स्थलगत वस्तुस्थिति बुझेर सदरमुकाम खलंगा फर्किएका सुरक्षा प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायसँग जानकारी लिएका थिए । प्रधान सेनापति थापा र सशस्त्रका आईजीपी खनालसित सुरक्षा समन्वयात्मक छलफल भएको नेपाली सेनाको खलंगास्थित दुर्गादल गुल्मका सेनानी श्यामराजा थापाले जानकारी दिए ।
घाँटीबगरबाट तिंकर जाने बाटो नहुँदा स्थानीय बासिन्दालाई भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ । कहिलेकाहीं भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि दुव्र्यवहार र आक्रमणका घटनासमेत हुने गरेका छन् । नेपालले कालापानी–लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतीय पक्षले किनमेलका लागि महाकाली नदी तरेर जान रोक्दै आएका छन् । सेनाले असार मसान्तभित्र आउजाउ गर्न सकिने गरी घोडेटो बनाइरहेको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट २० किमि टाढा दार्चुलाकै हिकिलासम्म जिप चल्छ । हिकिलाबाट सुन्सेरासम्म सुक्खा याममा जिप चले पनि वर्षायाममा सो मार्ग विच्छेद हुने गरेको छ । सुन्सेराबाट उत्तरतर्फ दुम्लिङ ३३ किमि र दुम्लिङबाट घाँटीबगर १४ किमि छ । गएको वैशाख १४ को मन्त्रिपरिषद् बैठकले खलंगाबाट घाँटीबगरसम्म ४७ किमि सडक विभागलाई र घाँटीबगरबाट तिंकरसम्म ८७ किमि सेनालाई बनाउने जिम्मा दिने निर्णय गरेको छ । यही सडकअन्तर्गत ४ सय ५० मिटरको पहिरो र चट्टान छिचोलेर घाँटीबगर क्षेत्रमा ४ सय ५० मिटर घोडेटो १ महिनाभित्र बनाइसक्ने योजना छ । बाटो निर्माणका साथै सशस्त्रको ब्याक सपोर्टका रूपमा सेनाले ब्यासको घाँटीबगर/थी भन्ने ठाउँमा बेस क्याम्प राखेको छ ।




