काठमाण्डौ, ४ असार । कुवतेबाट १५० जना नेपाली भर्खरै मात्र काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी नेपाली केहीबेरअघि मात्र जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन् ।
कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीहरुलाई कुवेत सरकार आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि पनि चारवडा उडानमार्फत पाँच सय ९८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।
त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई कुवेत सरकारले निःशुल्क रुपमा ल्याइदिइरहेको छ । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
घर फर्किएका नेपालीलाई विमानस्थलमा पनि सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने तयारी गरेको छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने तयारी गरेको छ ।

यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वारेण्टीनमा राखिने छ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाण्डौमा पनि झण्डै १५ सय क्षमताको क्वरेण्टीन बेडहरुको व्यवस्था गरेको छ ।
सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वरेण्टीनमा बस्नु पर्छ ।




