काठमाण्डौ, ४ असार । नोवेल कोरोना भाइरसका कारण विदेशमा समस्यामा रहेका नेपालीहरुको उदारको क्रममा आज बिहीबार पनि मलेसिया, कुवेत र ओमानबाट नेपालीहरुलाई सरकारले स्वदेश फर्काइदै छ ।
कुवेतबाट १५० जना नेपालीलाई कुवेत सरकारले नै जजिरा एअर मार्फत नेपालसम्म निःशुल्क ल्याइदिने भएको छ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित ल्याइने भएको हो ।
यस्तै ओमानबाट १८० जना नेपाली सलाम एअरले चार्टर्ड उडानमार्फत स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । उक्त एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।

यस्तै आज नै मलेसियाबाट पनि नेपालीहरु समस्यामा परेका मध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो । उक्त उडानमार्फत फर्कने नेपालीको सङ्ख्या भने खुलाइएको छैन । मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्ने जानकारी दिइएको हो ।




