काठमाडौं, ३२ जेठ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले देशको विदेश नीति पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।
नेपाल र भारतबीच कालापानीमा देखिएको पछिल्लो विवादलाई लिएर स्वामीले भारतको विदेश नीतिलाई नयाँ शिराबाट फेरि स्थापित गर्नुपर्ने बताएका हुन्।
उनले नेपालले भारतको भूमिमा दावी गर्ने कुरा सोच्न पनि नसकिने भन्दै भारतले नेपालीहरुको भावनामा चोट पुर्याएको उल्लेख गरेका छन्।

स्वामीले ट्वीटरमा भारत सरकारलाई प्रश्न गरेका छन्, ‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्याएको छ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ।’
प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा सर्वसम्मत पारित भएको भोलिपल्ट भाजपाका वरिष्ठ नेताले भारतको विदेश नीतिमा प्रश्न उठाएका हुन्।
यसअघि भारतीय विदेश मन्त्रालयले नयाँ नक्सामा लिम्पियाधुरामाथि गरिएको दावी कृत्रिम भएको र यसले वार्ताको विकल्पलाई उल्लंघन गरेको प्रतिक्रिया दिएको थियो।





