काठमाडौं ३१ जेठ। विश्वव्यापी रुपमा फैलीरहेको नोवेल कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको खर्च विवरणलाई पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।
उक्त क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्सा बनाएकोमा सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा खर्च भएको भनिएको १० अर्बको हिसाब समेत मागेका छन् ।

उनीहरुले शुक्रबार गरेको प्रदर्शनमा जस्तै क्वारेन्टिनलाई जोखिममुक्त बनाउने साथै शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन् । उनीहरुले शान्तीपूर्ण रुपले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् ।
प्रदर्शन शान्तिपूर्ण रुपले गरेको भएता पनि सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।




