काठमाडौं, २३ वैशाख । सरकारले कोरोना भाइरससङ्क्रमणको महामारीविरुद्ध लड्न ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको जनाएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बताएका हुन् ।

मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिलेसम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भएअनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताए ।




