काठमाडाैं, ११ जेठ । नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले जतिसुकै चर्को–चर्को कुरा गरे पनि नेपालको मामिला बुझ्ने कूटनीतिज्ञ र विश्लेषकचाहिँ निकै अत्तालिएको पाइएको छ । नेपालको मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले त नेपालको मामिलामा मात्र होइन, सारा छिमेकमा भारत फेल भइरहेको स्वीकारेका छन् ।
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्ग निर्माणका लागि नेपाली भूमि प्रयोग गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेका बेला नेपाल मामलाका जानकार मानिने मुनीले भारतीय पत्रकार मनोज मनुको ‘एडिचर च्वाइस’ कार्यक्रममा अहिले भइरहेकाे सीमा विवादबारे भारतकाे लागि राम्राे नभएकाे बताएका छन् । उनले भने, ‘जे अहिले भएको छ, यो राम्रो होइन हाम्रा लागि । यसलाई बातचितबाट हल गर्नुपर्छ । हामीले मानि पनि सकेका छौं कि बातचितबाट हल गर्नेछौं । यसलाई राजनीतिकरण गर्नु न नेपालको दीर्घकालीन हितमा छ, न हाम्रो दीर्घकालीन हितमा छ ।’
नेपाल र भारत दुवैले १८१६ को सन्धीलाई माने पनि भारतले गलत व्याख्या गरेकाे समेत उनले बताए । ‘यसको सीधा समाधान जो हुनेछ, यसमाथि नेपालसँग के दस्ताबेज छ, उनीहरु १८१६ को सन्धीको कुरा गरिरहेका छन्, त्यो सही हो । हामी पनि १८१६ को सन्धीलाई मान्छौं । तर, यसको व्याख्या हाम्रो अलिक गलत छ । जो नदी र त्यसको मुहानमा छ । यसका लागि हिन्दुस्तानसँग पनि आफ्नो दस्ताबेज छ । दुबै पक्ष बसेर आरामका साथ बातचित गरेर यसको फैसला गर्नुपर्छ, उनले भने ।

नेपालमा मात्रै नभएर एशियामा नै चीनकाे प्रभाव बढीरहेकाे पनि उनले बताए । ‘चीनको जुन प्रभाव बढिरहेको छ, जो एक वास्तविकता हो । यो सिर्फ नेपालमा मात्रै बढिरहेको छैन । हाम्रो चारैतिर बढिरहेको छ, उनले भने, ‘श्रीलंकामा, म्यानमारमा, बंगलादेशमा, पाकिस्तानमा, मालदिभ्समा । कहाँ बढिरहेको छैन ? सारा एशियामा चीनको प्रभाव बढिरहेको छ । यो भारतका लागि एउटा ठूलो चुनौती हो । र, यो चुनौती नेपालबाट कैयौं ज्यादा बढी छ ।’
चुनौतीको सामना गर्नका लागि भारतले एक रणनीति सुचारु रुपबाट बनाएर चलाउनुपर्ने उनकाे भनाइ छ । ‘यो चुनौतीको सामना गर्नका लागि हामीले एक रणनीति सुचारु रुपबाट बनाएर चलाउनुपर्छ । नत्र हामी पछाडि पर्नेछौं । अहिले पनि मलाई लाग्छ कि हामी पछाडि परिरहेका छौं । यसले गर्दा हामी बहुत सावधानीका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने ।
भारतले गर्ने रोटीबेटीको कुरा, संस्कृतिको कुरा, हिन्दु धर्मको कुरा, भाषाको कुरा सबै बेइमानी भएकाे समेत उनले बताए । ‘हामी लामो कुरा गर्छौं, रोटीबेटीको कुरा गर्छौं । संस्कृतिको कुरा गर्छौं । हिन्दु धर्मको कुरा गर्छौंं । भाषाको कुरा गर्छौं । यी सबै कुराहरु बेइमानी हुन् । जबसम्म दैनिक काम र भविश्यको आकांक्षा पूरा गर्नमा यो पुरानो संस्कार काम लाग्दैन भने यसको भेल्यु कम भएर जान्छ । हामीले यो कोसिस गर्नुपर्छ कि जनताको लेबलमा । यसमा हाम्रो कमजोरी छ,’ उनले भने ।




