एजेन्सी, ११ जेठ । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नु भएको छ ।
निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो रु”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहनु भएको छ ।

धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ ।




