काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलोपल्ट मृत्यु भएकी सुत्केरी महिलाका श्रीमानसहित परिवारका पाँच जनालाई आइसोलेसनमा राखिएको छ ।
कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको सम्पर्कमा रहेका श्रीमान, उनकी आमा, बहिनी, भाइ र नवजात शिशु गरी पाँच जनालाई शनिबार बेलुकादेखि नै धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको र आज (आइतबार) बिहानै स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् ।
उनले भने, ‘नवजात शिशुलाई पनि आइसोलेसन (सीसीयूसहितको) मा राखिएको छ, १२ दिनको शिशु भएकाले सबै कुरा ख्याल गरिएको छ ।’ स्वाब संकलन गरिएका चार जनाको पीसीआर परीक्षण भइरहेको र आइतबार बेलुका वा सोमबार बिहानसम्ममा रिपोर्ट आउने जनाइएको छ ।

नौ दिनकी सुत्केरी ती महिला सिन्धुपाल्चोकको बाह्रबिसे–९, राम्चेकी हुन् । बिहीबार स्वास्थ्य अवस्था जटिल बनेपछि वाह्रविसेबाट धुलिखेल अस्पताल ल्याइएको थियो, उनको उपचार सुरु नगर्दै मृत्यु भएको थियो । यसैबीच कोरोनाको कारण महिलाको मृत्यु भए पनि रोकिएको अस्पतालको सेवा आइतबार विहानदेखि सञ्चालनमा ल्याइएको ।
बाह्रबिसेको अवस्था बुझ्न चिकित्सकको उच्च टोली जाँदै
सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ ।
नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र सङ्क्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको टोली त्यहाँ पुगिसकेको छ भने सङ्घका दुई टोली पनि त्यहाँ आजै पुग्दैछन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले डा पुमा थापाको नेतृत्वमा तीन सदस्यीय विज्ञसहित चिकित्सकको टोली त्यसतर्फ आज पठाउन थालिएको जानकारी दिए ।
शुक्रबार बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको कोभिड–१९ को कारणले नेपालमा पहिलो पटक निधन भएको थियो । डा. अधिकारीका अनुसार केहीबरेमा उक्त टोली आवश्यक सामग्री लिएर जाँदैछ ।
यसैगरी सङ्घबाट वाग्मती प्रदेशमा खटिएका डा. राधिका थपलिया र डा. झलक शर्मा गौतमको दुई चिकित्सकको टोली पनि आज त्यसतर्फ जाँदैछ । डा. थपलियाले मृतकको गाउँ पुगेर कस्तो अवस्था रहेको छ भनेर अनुसन्धान गर्ने बताए ।
‘हामी त्यहाँ पुगेर वस्तुस्थितिका बारेमा अध्ययन गर्दछौँ, त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले कसरी काम गरिरहेको छ, बाह्रबिसे नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि बसेर त्यहाँको स्थिति पत्ता लगाउँछौं’, उनले भने ।
यसअघि उक्त ठाउँमा वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि डा. पुरुषोत्तम सेढाईको नेतृत्वमा टोली आजै पठाइसकेको छ । जिल्लाबाट पनि मृतकको गाउँमा टोली कन्ट्याक्ट ट्रेसिङका लागि पुगिसकेको छ ।




