काठमाडौँ, २७ चैत । डा. प्रकाशचन्द्र लोहनीले साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्न नहुने बताएका छन् । कोरोनाविरुद्ध लड्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरूको चाहिँ २५ प्रतिशत तलब कटौती गर्न उनले सरकारसँग माग गरेका छन् ।
उच्च राजनीतिक ओहोदामा बसेकाहररूको एक वर्षको तलबमा २५ प्रतिशत कटाउने हो भने महामारी विरुद्ध लड्न पर्याप्त आर्थिक पूर्वाधार तयार हुने लोहनीले बताए । राष्ट्रको ढुकुटीमा यसले अरबौँ रुपैयाँ जम्मा हुने उनको आँकलन रहेको छ ।

‘राष्ट्रपति, संवैधानिक अङ्गका सबै पदाधिकारीहरू र प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता एक वर्षको २५ प्रतिशत काटियो भने पैसाको कमी हुँदैन’ लोहनीको भनाई छ । साथै, निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि यसै महामारीविरुद्धको अभियानमा लगाउनुपर्ने उनको थप प्रस्ताव छ । उनले भने, ‘सांसद् विकास कोषको रकम यतापट्टि लगाउनुपर्छ । सांसद विकास कोषको रकमबाटै ३–४ अरब आउँछ ।’
लोहनीको तर्क छ, राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको तलब नकाटी साना कर्मचारी र सुरक्षाकर्मीको मात्र कटौती गर्न मिल्दैन। ‘कर्मचारीहरूको तलब नकाट्नोस्, प्रहरीको पनि काट्नुहुँदैन’ उनी भन्छन् ।
लोहनी पूर्वअर्थमन्त्री हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका छन् ।




