झापा, २६ चैत । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् ।
जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै रु ५० लाखको सहयोग गरेको छ ।
सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न रु ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।
त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले रु १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले रु आठ÷आठ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु पाँच लाख नौ हजार, पूर्वी नेपाल सहकारी संस्थाले रु चार लाख तथा मेची सहकारी संस्थाले रु दुई लाख तीन हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष ढकालले बताउनुभयो ।




