दैलेख, २६ चैत । लकडाउनमा तरकारी अभाव बढ्दै गएको छ । यो समयमा दैनिक उपभोग्य सामग्रीको रूपमा रहेका तरकारी उत्पादन र बिक्रीवितरणमा अन्यत्र समस्या देखिएको भए पनि सदरमुकाम दैलेख बजारमा युवा व्यवसायीले उत्पादन गरेको च्याउले दैलेख बजारको तरकारी अभावलाई धानेको छ ।
सदरमुकामको दैलेख बजारमै युवा उद्यमी विजय ज्ञवालीले च्याउ उत्पादनका लागि दुई हजार सिलिन्डर निर्माण गरेर धमाधम च्याउ उत्पादन शुरु गर्नुभएको छ । पोषिलो आहारका रूपमा रहेको च्याउ उत्पादनले सदरमुकाम दैलेख बजारको तरकारी अभावलाई पूरा गरेको छ ।
लकडाउनमा अरूले सामानको मूल्य बढाउने गरेको भए पनि राधाकृष्ण च्याउ उत्पादन तथा प्रशोधन रिसर्च सेन्टरले उत्पादन गरेको च्याउको मूल्य बढाइएको छैन । दैनिक २५ केजी च्याउ उत्पादन क्षमता रहेको उद्योगले लकडाउनको १३ औँ दिनसम्म पनि २५० रुपैयाँ प्रतिकेजी च्याउ बिक्री गरेको छ ।
कोरोना सङ्क्रमणबाट बच्न पोषिलो झोल कुरा खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुकाएको र दैनिक उत्पादन भएको ताजा च्याउ लिन घरमै मानिसहरू पुग्ने गरेका छन् । रु १० लाख रकम लगानी गरेर च्याउ उत्पादन शुरु गरेका ज्ञवालीका तीन जनाको परिवार र अन्य चार कर्मचारी दैनिक च्याउ उत्पादनमा खटिएका छन् ।

च्याउका लागि आवश्यक पर्ने पराल, पराल काट्ने मेसिनसमेत ज्ञवालीले घरमै जोड्नुभएको छ । घरको तल्लो तलाका पाँच र माथिल्लो तलाका दुई कोठामा च्याउ उमार्न शुरु गरिएको छ । पोषिलो ताजा उत्पादन र घरमै च्याउ पाएपछि निकै सहज भएको स्थानीयवासी अनिता केसीले बताउनुभयो ।




