एजेन्सी, १९ चैत । कोरोना भाइरसको संक्रमणबाट इटालीमा ६० जनाभन्दा बढी डाक्टरहरुको ज्यान गएको भने ८ हजारभन्दा बढी संक्रमित छन् । उपचारमा खटेका ती डाक्टरहरुले अरुलाई बचाउँदै आफ्नो ज्यान गुमाएका हुन् ।
इटालीमा एक नर्समा कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले आफ्नो संक्रमण अरुमा नसरोस भन्दै आत्महत्या गरेकी थिइन् । उनी ३४ वर्षीया डानिएला ट्रेजी नामकी नर्स थिइन् ।

कोरोनाका कारण सबैभन्दा बढी इटालीमै मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसबाट १२ हजार ४२८ मृत्यु भएको छ । अहिलेसम्म इटालीमा १ लाख ५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको वर्ल्डो मिटर्स डट इन्फोमा उल्लेख छ ।
हाल १५ हजार ७२९ जना पूर्ण रुपमा निको भएका छन् भने ७७ हजार ६३५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभान्दा बढीको अवस्था गम्भीर रहेको छ ।




