काठमाडौं, १८ चैत । प्रेस काउन्सिल नेपालले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन/प्रसारण नहुने गरी ब्लक गरेको छ ।
चैत १० गतेदेखि हालसम्म कोरोना भाइरस {कोभिड– १९} बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिलले विज्ञाप्तीमार्फत जनाएको छ ।
प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरणमात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १४ अनलाइन सञ्चारमाध्यमहरुलाई भने ब्लक नै हानिएको काउन्सिलले जनाएको छ ।

जटिल परिस्थितिमा पत्रकार र सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ । तर पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
काउन्सिलका अनुसार कास्कीखबर डटकम, नेपाली अनलाइनन्यूज डटकम, भिजिटस्टार्ट डटकम, न्युज ट्वेन्टीसेभेनमिडिया डटकम, मिडिया माइनेपाल डटकम, निगरानीखबर डटकम, हाम्रो अभियान डटकम, नेपालडीप डटकम, बीबीसीई नेपाल डटकम, इन्यूज ट्वेन्टीफोर नेपाल डटकम, ललितपुरखबर डटकम, एचखबर डटकम, पवित्र टिभी डटकम र सिआइएनेपाल डटकम बन्द गरिएकाे छ ।
ब्लक गर्नुकाे कराण यस्ताे छ-
कास्कीखबर डटकम : ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार प्रकाशन/प्रसारण गरेको थियो ।
नेपाली अनलाइनन्यूज डटकम : ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित ।
भिजिटस्टार्ट डटकम : ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित ।
न्युज ट्वेन्टीसेभेनमिडिया डटकम : ‘दुःखद् खबर १ वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन ।
मिडिया माइनेपाल डटकम : ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण ।
निगरानीखबर डटकम : ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार सम्प्रेषण ।
हाम्रो अभियान डटकम : ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन ।
नेपालडीप डटकम : ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने, भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् ः योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित ।
बीबीसीई नेपाल डटकम : ‘समाचर सम्प्रेषणका क्रममा न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीको नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो १’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं १’ शीर्षकमा समाचार प्रकाशन ।
इन्यूज ट्वेन्टीफोर नेपाल डटकम : ‘खुशीको खबर : कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले १’ शीर्षकमा समाचार सम्प्रेषण ।
ललितपुरखबर डटकम : ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार सम्प्रेषण ।
एचखबर डटकम : ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको छ । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण ।
पवित्र टिभी डटकम : ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु‘१ मा‘ चो‘११ भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम ग¥यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार सम्प्रेषण ।
सिआइएनेपाल डटकम : ‘डब्लुएचओको चेतावनी : पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सम्प्रेषण ।

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी पनि गरेकाे छ ।
निर्देशिका यस्ताे छ
(१) सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।
(२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने : पत्रकार तथा सञ्चारमाध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नुपर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।

(३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्थाजस्ता कुनैपनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
(४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।
(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने: (१) पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।
(६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने : पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।
(७) गल्ती सच्याउन तत्परता : पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।
(९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्ने : पत्रकार तथा सञ्चारमाध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित-२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।




