दैलेख, १६ चैत । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिदै गएपछि दैलेखमा भारतबाट फर्कनेहरुको सङ्ख्या वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालयले भारतबाट आएका नागरिकको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको सङख्या ९०४ पुगेको जनाएको छ ।
जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताए । सङ्ख्या अझै बढ्नसक्ने उहाँको भनाइ छ । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए ।
पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए ।

नारायण नगरपालिकामा १३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १५६, महावुमा नौ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ ।




