काठमाडाैं, ७ चैत । कोरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिमविरुद्ध जुध्न सरकारले छिमेकीको साथ खोज्न थालेको छ । उत्तरी छिमेकी चीनसँग मेडिकल एम्बुलेन्सदेखि मास्कसम्मको माग्ने सूची बनाएर सरकारले पठाउँदै छ ।
गत मंगलबार नेपालस्थित चिनियाँ दूतावासमार्फत पत्र पठाउँदै चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले तयार गरेर परराष्ट्र मन्त्रालयमा पठाएको सूचीमा स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र एन ९५ मास्क २०/२० हजार थान मागिएको छ ।
त्यस्तै, पोर्टेबल भेन्टिलेटर सय र मोनिटर दुई हजार थान मागेको छ । एबिजी मेसिन, भाइरल डिटेक्टिङ पिसिआर मेसिन र सिआरआरटी मेसिन २०/२० थान मागेको छ ।

चीनलाई पठाउन लागेको सूचीमा अक्सिजन प्लान्ट पाँच थान, इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स सात थान, मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स पाँच थान र थर्मो स्क्यानर १० थान माग भएको छ ।
त्यस्तै, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन १० हजार, इन्ट्युवेटिङ सेट र पिसिआर किट्स दुई–दुई हजार तथा थर्मल थर्मोमिटर हजार थानको सूची बनेको छ ।
स्वास्थ्यले १० बुँदामा पठाएको यी सामानको सूची परराष्ट्रले चीनलाई पठाउने तयारी गरेको छ । समन्वय गरिरहेका परराष्ट्रसचिव शंकरदास बैरागीले चीनसँग कारोना भाइरस नियन्त्रणको अनुभव, पद्धति र प्रक्रियाबारे नेपालले सहयोग लिने बताए ।




