काठमाडौं, ७ चैत । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ५४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको थियो ।
स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा अहिलेसम्म ५४६ जनामा कोरोना परीक्षण गरिको थियो । ५४६ जनामा कोरोना परीक्षण गर्दा अहिलेसम्म एक जनामा मात्रै रिपोर्ट पोजेटिभ आएको छ । चीनको उहानबाट फर्किएका एक विद्यार्थीलाई कोरोना पोजेटिभ देखिएको थियो । तर अहिले उक्त विद्यार्थी पूर्ण रुपमा निको भइसकेका छन् ।
कोरोनाको आशंकामा नेपालगञ्ज, धनगढी, पोखरा, लुम्बिनी, चितवन, विराटनगर लगायत काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र विभिन्नि निजी अस्पतालबाट नमुना प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा हाल दैनिक १० देखि १५ वटा नमुना परीक्षण हुने गरेको छ । नमुना परीक्षणको रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ । आवश्यक परे दैनिक ६ सय बढी नमुना परीक्षण गर्न सक्ने क्षमता आफूहरुसँग भएको प्रयोगशालाले जनाएको छ ।
गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ८० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
विश्वमा कोरोना भाइरसका संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३३ पुगेको छ । २ लाख ४४ हजार ९७३ कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ८७ हजार ४०८ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ७ हजार ५१६ जनाको अवस्था गम्भीर छ ।




