काठमाडौं, ६ चैत्र । कोरोना भाइरस अर्थत् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १४९ पुगेकाे छ ।
अहिलेसम्म विश्वभर २ लाख २३ हजार ४२७ कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ८५ हजार ७९७ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ६ हजार ८८७ जनाको अवस्था गम्भीर छ ।

कारोना भाइरसबाट सबैभन्दा बढी मर्ने र संक्रमित हुने देशमा चीन पहिलो नम्बरमा र्पछ । अहिलेसम्म चीनमा ३ हजार २४५ जनाको मृत्यु भएको छ भने ८० हजार ९२८ जनामा संक्रमण देखा परेको छ । ७० हजार ४२० जना भने पूर्ण रूपमा निको भइसेकेका छन् ।
कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ । इटालीमा कारोनाको कराण मृत्यु हुनेको संख्या चीनकै हाराहारी पुगेको छ । हालसम्म इटालीमा २ हजार ९७९ जनाको मृत्यु भएको छ । इटलीमा कोरोनाका कारण मृत्यु हुने संख्या चीनको भन्दा २६६ मात्रै कम छ ।

एक/दुई दिनमै इटालीले चीनलाइ उछिन्ने देखिन्छ । इटालीमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ३ सयभन्दा बढीको मृत्यु हुने गरेको छ ।
२४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । चीनमा एक दिनमा २० जना भन्दा कम मर्न थालेका छन् ।
अहिले चीनमा ७ हजार २६३ जनामा मात्रै कोरोनाको संक्रमण रहेको छ भने इटालीमा अहिले २८ हजार ७१० जना कोरोना संक्रमित छन् ।

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा १ हजार २८४ मृत्यु भएको छ भने १८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ६४० को मृत्यु भएको भने १५ हजारभन्दा बढी संक्रमित भएका छन् ।




