काठमाडौं, ६ चैत । काठमाडौं उपत्यकाबाट यात्रुहरु बाहिरिनेक्रम सुरु भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोराना भाइरसको डरले उपत्यकामा बस्दै आएका मानिसहरु आफ्नो गाउँघर फर्किन लागेको जनाइएको छ।
अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरले बताए । नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जानके यात्रुको भीड लागेको उनी बताउँछन् ।
घर जान आज (बिहीबार) बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएको महाशाखाले जनाए। त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् ।




