एजेन्सी, ५ चैत । विश्वभर फैलिरहेको कोरोनाबाट इटलीमा ज्यान गुमाउनेको संख्या २५ सय नाघेको छ । युरोपेली मुलुक इटालीमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको जनाइएको छ ।
त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।त्यस्तै मंगलबार इटालीपछि स्पेनमा सबैभन्दा बढी १९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा भाइरसबाट ज्यान गुमाउनेको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।
बुधबार इरानमा पनि थप १३५ जनाको ज्यान गएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९८८ जनाको ज्यान गइसकेकोछ भने संक्रमितको संख्या १६ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २७, अमेरिकामा २३, नेदरल्यान्ड्समा १९, बेलायतमा १६, जर्मनीमा ९, स्विजरल्यान्डमा ८, दक्षिण कोरियामा ६, क्यानडामा ४, मलेसिया, इजिप्ट, इन्डोनेसिया र सान मारिनोमा २–२ जना तथा अस्ट्रिया, स्विडेन, जापान, पाकिस्तान, पोल्यान्ड, इराक, भारत, लेबनान, टर्की, अल्जेरिया, मोरक्कको र युक्रेनमा एक–एक जनाले ज्यान गुमाएको तथ्यांक बाहिरिएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ८ सय ३ जनाको ज्यान गएको छ भने थप १५ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ । विश्वभर बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको ज्यान गएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ ले ज्यान गुमाइएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।




