‘काेराेनाकाे सङ्क्रमण राेक्न संसद् र विद्यालय बन्द गराैँ’

`

     २०७६ फाल्गुन २९ गते ८:५७

काठमाडौं, २९ फागुन  ।  नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस (काेभिड–१९) लाई महामारी भनेर घोषणा गरिसकेको र ‘प्याण्डेमिक’ प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाइसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेकाे औँल्याए । सरकारले अहिले पनि संसद्लाई निरन्तर चलाइराख्न नहुने तर्क उनले गरे । त्यसैगरी ठूलो भिड जम्मा हुने ठाउँहरुलाई तत्काल बन्द गर्न पनि उनले सुझाव दिए ।

समयमै सतर्कता अपनाउन नसके देशले ठूलो मानवीय क्षति बेहाेर्नुपर्ने भन्दै उनले यसतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘भिडभाड हुने ठाउँहरु जहाज, स्कुल, र बसमा सङ्क्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्‍याे । स्कुलहरु बन्द गर्नुपर्‍याे । यदी हामीकहाँ यो संक्रमणले भ्यायो भने हामीसँग राेक्नलाई केही पनि पूर्वाधार छैन । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसँग केही पनि छैन । सरकार के हेरेर बसेको छ ?’

त्यसैले सरकारले चाँडोभन्दा चाँडो संसद् पनि बन्द गर्नुपर्ने उनले धारणा राखे । साथै उनले विद्यालय पनि बन्द गर्नुपर्ने बताए । ‘ती ठाउँ तत्काल बन्द नगरिए त्यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने सम्भावना छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?