काठमाडाैं, २३ फागुन । नेपाल प्रहरीका डीआईजी राजीव सुब्बाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय प्रमुख रहेका सुब्बाले वैज्ञानिक वृत्तिविकास प्रणाली अवलम्वन नगरिएको भन्दै असन्तुष्ट थिए । ४ वर्षअघि डीआईजीमा बढुवा भएका सुब्बाको अझै १ वर्ष कार्यकाल बाँकी थियो । सुब्बाको राजीनामा गृह मन्त्रालय पुगीसकेको छ ।
डीआइजीसम्मको राजीनामा गृहमन्त्री स्तरीय निर्णयबाट स्वीकृत हुने व्यवस्था छ । ‘मैले फागुन २० गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको छु,’ डीआइजी सुब्बाले कान्तिपुरसँग भने, ‘अब नागरिकका रुपमा रहेर आफ्नो सीप र अनुभवको सदुपयोग गर्ने योजना छ ।’ सुब्बा २०५२ भदौमा सेवा प्रवेश गरेका थिए । उनले २४ वर्ष ७ महिना प्रहरीमा रहेर राजीनामा दिएका हुन् ।

तर प्रधान कार्यालय स्रोतका अनुसार सुब्बा कम्प्युटर, सञ्चार र पूर्वाधार हेर्ने प्राविधिकतर्फ कम्तीका एकजना विशिष्ठ श्रेणीको दरबन्दी (एआईजी) कायम हुनुपर्ने पक्षमा थिए । विभिन्न चरणमा यसबारे छलफल भएर पनि कुनै निर्णय नभएपछि सुब्बा असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।
प्रहरीमा स्वास्थ्यतर्फ एक एआईजीको दरबन्दी छ । करिब४ हजार ५ सय जनशक्ति कार्यरत सञ्चार, कम्प्युटर र सिभिल इन्जिनियरिङतर्फ विशिष्ठ श्रेणीसम्मको दरबन्दी छैन । २०६५ सालमा कृष्ण बस्नेतलाई एआईजी बनाउन प्राविधिक सहायता विभाग खडा गरिएको थियो । तर बस्नेतले अवकाश पाएपछि त्यो विभाग नै खारेज गरिएको थियो ।




