काठमाडाैं, २३ फागुन । तीन वर्ष अघि अर्थात् २०७३ सालको भदौ अघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । २४ घन्टा बिजुली उपलब्ध हुने कुरा कल्पना जस्तै लाग्थ्याे । हरेक दिन अध्याँरोमा बस्नु पर्ने हो कि भन्ने चिन्ता हुन्थ्यो । कुन बार कति बजे बत्ति जाने अनि कति बजे बत्ति आउने भन्ने तालिका नै थियाे । बत्ति आएको बेलामा नागरिकले इन्भर्टर, लाइटलगायतका उपकरण चार्ज गरेर राख्थे र अत्यावश्यक परेको बेला उपयोग गर्थे ।
१८ घन्टा लोडसेडिङ झेलेका नेपालीलाई चौबिसै घण्टा बिजुली आउने कुरा त सपना जस्तै लाग्थ्यो । तर २०७३ सालको भदौमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा दियो । त्यसपछि काठमाडाैं उपत्यका र आसपासका जिल्लामा लोडसेडिङ अन्त्य भयो । अचानक लोडसेडिङ गायब भएपछि मान्छे चकित परे, आखिर के चमत्कार गरे कुलमानले ? चकित नहुन् पनि कसरी ? विगत १३ वर्षदेखि नेपालीले भोग्दै आएको लोडसेडिङ अचानक गायब भएकाे थियाे ।

कुलमान लोडसेडिङकाे अत्य गरेसँगै अहिले मानिसहरू खुसी भएका छन्, कुलमानकाे तारिफ गर्नेकाे कमि छैनन् । रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेका सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् । अहिले त नेपाली समाजमा बिजुलीको पर्यायवाची शब्द नै ‘कुलमान’ बनेकाे छ ।
अघिल्लो वर्ष बिजुलीको पर्यायवाचीका रूपमा कुलमान शब्द धेरै प्रयोग हुन्थ्यो । कुनै दिन कुनै गढबढीले बिजुली गयो भने मान्छेहरू भन्थे– ‘आज कुलमान गयो ।’ बिजुली आयो भने भन्थे–‘लौ कुलमान आयो ।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । वर्षौंदेखि लोडसेडिङको मार खेप्दै अँध्यारोको सामना गर्दै आएका आम सर्वसाधारणको उज्यालो युग भेटे । त्यसैको खुसीयालीमा आम सर्वसाधरणले बिजुलीको पर्यायवाची नाम कुलमान मात्र राखेनन्, कतिपयले आफ्नो घर अगाडिको बाटो, चोकको नाम र स्कुल भवनकाे नाम पनि कुलमानको नामबाट राखेका छन् ।
भवनकाे नाम ‘कुलमान घिसिङ भवन’
काठमाडाैंकाे जाेरपारटीस्थित वेव स्कुलले पनि भवनकाे नाम ‘कुलमान घिसिङ भवन’ राखेकाे छ । स्कुलका प्रिन्सीपल गाेविन्द लिम्बुकाे अनुसार कुलमानकाे सम्मानकाे लागि स्कुल भवनकाे नाम ‘कुलमान घिसिङ भवन’ राखिएकाे हाे ।

‘पहिले १८ घण्टासम्म लोडसेडिङ हुँदा विद्यार्थीहरूले कम्प्युटर कक्षा पढ्न पाउँदैन थिए, अहिले बिजुलिकाे कारण विद्यार्थीकाे पढाइ कहिल्यै राेकिएकाे छैन, विद्यार्थीहरुले जहिले पनि अभ्यास गरिरहेकै हुन्छन्’ प्रिन्सीपल लिम्बुले भने, ‘त्यसैले गर्दा कुलमानकाे सम्मानकाे लागि विद्यालय भवनकाे नाम ‘कुलमान घिसिङ भवन’ राखिएकाे हाे ।’
‘कुलमान घिसिङ भवन’मा जम्मा १४ वटा काेठाहरू छन् । प्रिन्सीपल लिम्बु अनुसार भूईतलामा तीन वटा ठूल-ठूला कोठा छन् । दोस्रो र तेस्रो तलामा चार/चार वटा र चाैथो तलामा तीनवाट काेठाहरू छन् । भूईतलको कोठा सबै कम्प्युटरको लागि प्रयोग गरिएको छ भने अरु तलामा विज्ञान प्रयोगशाला, कक्षाकोठा र स्कुलको अफिसको लागि प्रयोग गरिएको छ ।
जम्मा एक हजार विद्यार्थी रहेकाे वेव स्कुलमा अहिले कक्षा तीन देखि कक्षा १२ सम्मकै विद्यार्थीले कम्प्युटर विषय पढ्दै आएका छन् । तीनदेखि १० सम्मकाे लागि कम्प्युटर कक्षा अनिवार्य विषयकाे रूपमा राखिएकाे छ भने ११ र १२ कक्षाकाे लागि ऐछिक विषयको रुपमा राखिएको प्रिन्सीपल लिम्बुले बताए । लिम्बुका अनुसार हप्ताकाे तीन दिन कम्प्युटर कक्षा हुन्छ भने तीन दिन प्रयोगत्मक कक्षा हुन्छ ।
बिहान विद्यार्थीले प्रार्थना गर्ने चाैर पनि यहि भवनकाे अगाडि छ । प्रार्थना गर्दा सधै कुलमान जस्ताे बन्नु भनेर सिकाइने प्रिन्सीपल लिम्बु बताउछन् । ‘विद्यार्थीहरुलाई पनि कुलमान जस्तो इमान्दार हुनुपर्छ, आफ्नो लागि भन्दा पनि समाजको लागि देशको लागि सेवा गर्ने कुलमान जस्तो हुनुपर्छ भनेर सिकाउछाैँ, उनले भने, ‘हाम्रो विद्यार्थी कुलमान जस्तो भयो भने देश धेरै माथि पुग्छ, नेपाल बनिनु कत्ति पनि लाग्दैन ।’
भवनकाे नाम मात्रै हाेइन अफिसमा पनि कुलमानकै ठूलाे फाेटाे राख्न लागेकाे प्रिन्सीपल लिम्बुले बताए । उनले भने, ‘अफिसमा पनि कुलमानको ठूलो फोटो राख्न लागेका छाैँ, फोटो अडर गरिसकेका छाैँ, अफिसमा भएको अरुको फोटो भन्दा ठूलो राख्ने छाैँ ।’




