भूपू सासंद र व्यवसायीले १ अर्ब ९० कराेड बक्यौता रकम तिर्न बाँकी, नतिरे जायजेथा बिक्री गरी असुलउपर गरिने
काठमाडाैं, २३ फागुन । सरकारले वर्षौं पहिलेदेखिको बक्यौता रकम तिर्न बाँकी विभिन्न व्यक्ति तथा संस्था (फर्म) को नाम सार्वजनिक गर्दै ताकेतासमेत गरेको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम नतिर्ने व्यक्तिको तीनपुस्तेसहित विवरण सरकारी मुखपत्र गोरखापत्रमार्फत शुक्रबार सार्वजनिक गर्दै सरकारको १ अर्ब ९० करोड रुपैयाँ तिर्न ताकेता गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा पूर्वराष्ट्रिय पञ्चायत सदस्यहरूदेखि क्यासिनो मालिक, ठेकेदार र सर्वसाधारणहरु छन् ।
एउटै व्यवसायीकाे ७३ करोड रुपैयाँ बक्यौता
कार्यालयका अनुसार एउटै व्यवसायीले ७३ करोड रुपैयाँसम्म सरकारलाई तिर्न बाँकी छ । नेपाल रिक्रेसन सेन्टर प्रालिका सञ्चालक राकेश बाध्वाले ७३ करोड ६ लाख १ हजार ४ सय ६५ रुपैयाँ सरकारी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, होटेल याक एनड यतीका सञ्चालक राधेश्याम सर्राफले १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ र होटेल सोल्टी प्रालि ताहाचलका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टले ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै ह्याप्पी आवर प्रालिका सञ्चालक सुरेन्द्रबहादुर सिंहले ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ, दी फूलबारी प्रालिका सञ्चालक पियुषबहादुर अमात्यले ३३ करोड ९३ लाख १५ हजार ७ सय १६ रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै टेक्साना रिसोर्सेज कम्पनीले १३ करोड ८८ लाख ६८ हजार ४ सय ३८ रुपैयाँ सरकारी बक्यौता तिर्न बाँकी छ । इमिरेट्स एसोसियटेड बिजनेस ग्रुपले २ करोड ८० लाख ३० हजार ६ सय ५९ रुपैयाँ र बिबी च्याम्पियन ओइल कम्पनीले १ करोड ५३ लाख २ हजार ५ सय ७४ रुपैयाँ सरकारलाई तिर्न बाँकी रहेको कार्यालयले जारी गरेको विवरणले देखाएको छ ।
को को हुन् बक्याैता नतिर्ने राष्ट्रिय पञ्चालत सदस्य ?
कार्यालयका अनुसार भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य (रापंस) मध्ये बाजुराका प्रकाशबहादुर सिंह (विवरणमा हाल काठमाडौं लाजिम्पाट उल्लेख गरिएको छ) ले ६० हजार ४ सय ६१ रुपैयाँ, पर्साका भूतपूर्व राष्ट्रिय पञ्चायत जयप्रकाश मालाहाले २० हजार ५ सय ७४ रुपैयाँ र बाराका भूतपूर्व राष्ट्रिय पञ्चायत सांसद विश्वनाथप्रकाश जयसवालले ३१ हजार २ सय ४ रुपैयाँ सरकारी बक्यौता बाँकी छ ।
यसैगरी, पाल्पाका भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य यादवसिंह रायमाझीले ७ हजार ४ सय ९६ रुपैयाँ सरकारी बक्यौता तिर्न बाँकी छ । त्यस्तै दोलखाका भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य कृष्णप्रसाद उप्रेतीले ५२ हजार ८ सय ९२ रुपैयाँ सरकारी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार काठमाडौं डिल्लीबजारमा घर भएका सेनानी लोकबहादुर शमशेरले जबरा १३ हजार ९ सय ५ रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै एसपी मलमानसिंह बस्नेतले १६ हजार ७ सय ७१ रुपैयाँ सरकारी बक्यौता बाँकी रहेको देखिन्छ । भूपू प्रहरी सहायक उपरीक्षक तेजबहादुर गुरुङले ५ लाख २ हजार ८ सय ५० रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको विवरण सो सूचनामा छ ।
त्यस्तै हङकङका (हाल ताहचल) आरडी टरटलले तिर्नुपर्ने सरकारी बक्यौता १ करोड ८४ लाख ९ सय ९३ रुपैयाँ रहेको देखिएको छ ।
पटक पटक ताकेता गरे पनि तिरेनन्
कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका प्रमुख जीवन मल्होत्राका अनुसार १ सय २३ जनाबाट उठाउन बाँकी रकम १ अर्ब ९० करोड रुपैयाँ छ । कार्यालयले यसअघि पनि सरकारी बक्यौता तिर्न भन्दै पटक पटक सार्वजिनक सूचना जारी गर्ने गरेको थियो । त्यस्तै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत पत्राचारसमेत गरी सरकारी करम तिर्न आग्रह गरिएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सूचना प्रकाशित मितिले ३५ दिनभित्र साँवा रकम र नियमअनुसार लाग्ने ब्याज बुझाइ फरफारक गर्न अनुरोध गरिएको छ । ३५ दिनभित्र नबुझाए जायजेथा दाबी गरी लिलामी प्रक्रियाबाट कानुनबमोजिम सरकारी रकम असुल गरिने कार्यालयले दाबी गरेको छ ।




