काठमाडौं, २१ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गरेका छन्।
बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरे। ‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन। त्यसैगले अहिले केही भन्न सकिएन।
उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने। युवराज खतिवडालाई अर्थमन्त्रीमा सिफारिस गर्न मिल्ने तर गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न नमिल्ने किन? भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह गरे।

‘पार्टीको निर्णय पार्टीकै अध्यक्ष जसले बैठकमा बसेर निर्णय गर्नुभएको छ’, उनले भने, ‘उहाँले निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ। त्यसप्रति विश्वास छैन। अध्यक्षले औपचारिक रुपमा कुनै त्यस्तो टिप्पणी गर्नुभएको छैन। त्यसैले पार्टीको निर्णय कार्यान्वयन हुन्छ ।
यसमा अनावश्यक टिप्पणी गर्न जरुरी छैन।’ राष्ट्रियसभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यहरुको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरुले आज सपथ लिएका छन्। तर राष्ट्रपतिबाट मनोनित हुने एक जना मनोनयन हुन बाँकी छ।
नेकपा सचिवालयले उपाध्यक्ष वामदेव गौतमको नाम सिफरिस गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आएका छन्। मन्त्रिपरिषदले नाम सिफारिस गरेपछि राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ। यस्तोमा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्।





