पेरिस, १९ फागुन । प्राणघातक कोरोना भाइरसबाट हालसम्म विश्वका विभिन्न देशका दुई हजार ९९० मानिसको ज्यान गएको छ । हालसम्म कोरोना भाइरसबाट ८७ हजार ५६५ जना संक्रमित भइसकेका छन् ।
आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको संक्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण मकाउ तथा हङकङ बाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय) सम्ममा ५७३ जना नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ भने ३५ जनाको संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।

अहिलेसम्म चीन बाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्याङ्को निकै धेरै गुणा भाइरस संक्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो समयमा चीन बाहिर करिब एक हजार ७३ नयाँ विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान छन् ।
दक्षिण कोरियामा अहिलेसम्म तीन हजार ७३६ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कूल १८ जनाको मृत्यु भएको छ । इटलीमा कूल एक हजार १२८ जनामा संक्रमण भएको र अघिल्लो दिनभन्दा थप संक्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ ।
त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कूल ५४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या आइतबारसम्म थप ३८५ पुगेको र इरानमा कूल ९७८ व्यक्तिले संक्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ ।
जापानमा कूल २३९ व्यक्ति संक्रमित भई उपचार गरिरहेका बताइएको छ भने कूल ११ जनाको मृत्यु भएको छ । जापानमा विगत २४ घण्टामा थप नौ जनामा संक्रमणको पुष्टि भएको छ । जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा ७०० जनामा संक्रमण भएको अधिकारीहरूले बताएका छन् । उल्लेखित तथ्याङ्क सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो ।
कोरोना संक्रमण लुकाएको आरोपमा दक्षिण कोरियाका धार्मिक नेतामाथि छानबिन
दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन शुरु गरेको छ ।
सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हो । आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस संक्रमण सारेको कोरिया सरकारको आरोप छ ।
राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियामा संक्रमितको संख्या हरेक घण्टा बढिरहेको कोरियाली सञ्चार माध्ययमले जनाएका छन् । अहिले चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको अवस्था सबैभन्दा खराब रहेको छ ।




