एजेन्सी, १७ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) कतारमा पनि भेटिएको छ ।
इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ । कतारमा शंकास्पद २५ जनाको स्वास्थ परीक्षण गरीएको थियो ।
अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट दुई हजार ८७३ व्यक्तिकोको मृत्यु भइसकेको छ भने ८३,००० भन्दा बढी सङ्क्रमित रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।
चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ ।
चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ ।
त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । उता इरानमा पनि शुक्रबारसम्म कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ ।




