एजेन्सी, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ।
दक्षिण कोरिया थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण कामदारहरु त्रासमा बसिरहेका छन् ।

२ सय २९ जनासँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १ सय २ जना भाइरसबाट संक्रमित भएका छन् । थेगु र छाङदोमा मात्रै ३ सय ५३ संक्रमित छन् ।
भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । थेगुमा झन्डै २५ लाख मानिस बसोबास गर्छन् ।




