काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली ६९औँ जन्मदिन मनाउन जन्मघर आज तेह्रथुमको आठराई गाउँपालिकामा जाँदै छन् ।
तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको बताइएको छ ।

यसै अवसरमा उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्वीर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।




