काठमाडौं, ५ फागुन । बलात्कारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज (सोमबार) फैसला आउँदै छ ।
महराको अन्तिम सुनुवाइ हिजो आइतबार भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ र शेरबहादुर केसी लगायतले बहस गरेको भएपनि समय अभावले फैसला भने हुन सकेको थिएन ।
महरामाथि लागेको अभियोगबारे सोमबार फैसला आउने सम्भावना रहेको बताइएको छ । यो भन्दा अगाडि ३ पुषमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतमा पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । १२ असोजको साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।




