काठमाडाैँ, ४ फागुन । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए ।
चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कर्टिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको थियो ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आज नै फर्काइएका ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुँदैन भन्दै दैनिक आन्दोलन भए पनि आज भने कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।
उनीहरूलाइ लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।
नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ । वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो ।
क्यारेमबाेर्ड, लुँडाे खेल्न पाइन्छ
मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।
क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ ।
बढी भएकाे खाना जमिनमा गाडिने
क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।
स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ ।
क्वारेन्टाइनमा रहँदा अरु के के छन् स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था ?
१) क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।

२)क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै व्यवस्थापन गरिएकोछ।
३)स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।
४)विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।
५) व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।
६) हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।
७) अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।
८) आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।
९) आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।
१०) नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।
११)सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।
१२)क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
१३)क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।
१४ ) तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।




