काठमाडौं, ३ फागुन । सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको अवसरमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारै लोकतन्त्र महशुस हुँदै गएको बताए । लोकतन्त्र विस्तारै हुँदै गरेको प्रधानमन्त्रीको भनाइ रहेको छ ।
पहिलो वर्ष प्रतिनिधिसभामा सम्वोधन गर्दा विरोध भएर गर्न नपाएको सम्झझदै ‘पहिलो वर्ष विरोधका कारण सम्बोधन गर्न पाइन, सदन बाहिर नै सम्बोध गर्नु परेको थियो, दोस्रो वर्ष सदनमै बोल्ने वातावरण बनेको छ, खुशी लागेको छ,’ उनले भने ।
७/८ महिनामै सरकार फेरिरहने अस्थिरतालाई ध्यानमा राख्दा दुई वर्षसम्म एउटै सरकार रहनु पनि उपलब्धिको रुपमा लिनुपर्ने अवस्था भएको प्रधानमन्त्री ओली बताए । अघिल्लो वर्ष मैले आधार वर्ष भएको बताएको स्मरण गर्दै उनले भने, ‘दोस्रो वर्षलाई विकासको आधार वर्षको रुपमा लिएको छु।’

पहिलो वर्ष आधार वर्ष र दोस्रो वर्ष विकासको आधारको वर्ष बनेको पनि उनले बताए । संघीयताको नयाँ संरचनाको सहज सञ्चालनका लागि आफूले काम गरेको दाबी गरे । उनले दोस्रो वर्षमा ५५ नयाँ कानुन निर्माण भएको र २०१ वटा ऐन संशोधन भएको र मौलिक हक कार्यान्वयनमा आएको पनि बताए ।




