काठमाडौं, २ फागुन । चीनमा नेपालीको उद्धारका लागि जाने विमानका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
सरकारले चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने नेपाल वायु सेवा निगमका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको विरोधमा स्थानीयहरुले केही दिनदेखि सो क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए ।
शुक्रबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुगेको थियो । टोली अनुगमन तथा निरीक्षणका लागि आउने थाहा पाएपछि स्थानीयहरुले यातायात समेत अवरुद्ध गरेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

सडकमा भएको अवरोध हटाउने क्रममा झडप भएको हो । सरकारी टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा दुवैतर्फ सामान्य घाइते भएको जनाइएको छ । स्थानीयहरुले कोराना प्रभावितहरुलाई बस्तीको बीचमा नराख्न माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।




