काठमाडौं, २६ माघ । केन्द्रीय बैंकमा एक र दुई रुपैयाँ दरका सिक्का अभाव हुने भएको छ । बजारमा भएका सिक्का खिच्ने प्रणाली नहुँदा सिक्का मौज्दात सकिन लागेको हो ।
अहिले सिक्का छपाई पनि रोकिएको छ । हाल, राष्ट्रबैंकमा एक र दुई रुपैयाँ दरको १ करोड ३६ लाख रुपैयाँ बराबरको मात्रै सिक्का मौज्दात छ ।
नेपाल राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभाग अन्र्तगतको टक्सार महाशाखाले अहिलेदेखि नै एक रुपैयाँ दरका सिक्का एक सय रुपैयाँको मात्रै सटही गरेको छ ।

महाशखाका अनुसार अहिले सिक्का व्यवहारिक प्रयोगका लागि नभई धार्मिक प्रयोजनका लागि मात्रै सटही हुने गरेको छ । हाल, राष्ट्रबैंकको देशभर रहेका ८ वटै शाखाहरुमा १ को सिक्का १ सय १७ ड्रम अर्थात ९२ लाख १० हजार ३ सय रुपैयाँ बराबरको मौज्दात छ ।
२ को सिक्का ३ सय ७२ ड्रम अर्थात ४४ लाख रुपैयाँ बराबरको मात्र छ । बजारमा माग अनुसार हालको मौज्दातले ६ महिना मात्र धान्छ ।




